फिफा विश्वकप २०२६ सकिएपछि फ्रान्सका कप्तान किलियान एम्बाप्पेले देशवासी र समर्थकका नाममा भावुक खुला पत्र सार्वजनिक गरेका छन् । प्रतियोगितामा फ्रान्सले अपेक्षाअनुसार नतिजा हासिल गर्न नसकेपछि उनले टोलीको प्रदर्शनप्रति दुःख व्यक्त गर्दै समर्थक र सहकर्मीप्रति आभार प्रकट गरेका हुन् ।
फ्रान्स तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डसँग पराजित हुँदै चौथो स्थानमा सीमित भएको थियो । त्यसको एक सातापछि प्रकाशित पत्रमा एम्बाप्पेले बाल्यकालदेखि विश्वकप खेल्ने सपना पूरा भएको स्मरण गर्दै यसपटक ट्रफी जिताउन नसकेको पीडा खुलाएका छन् ।
पत्रमा उनले आफूलाई अन्तिमसम्म साथ दिने फ्रान्सेली समर्थकलाई विशेष धन्यवाद दिएका छन् । विश्वभर रहेका समर्थकहरूले रातभर जाग्राम बसेर टोलीको समर्थन गरेको उल्लेख गर्दै उनले मैदानभित्र र बाहिर प्राप्त साथ कहिल्यै नबिर्सने बताएका छन् ।
विश्वकपमा १० गोल गर्दै सर्वाधिक गोलकर्ता बने पनि ट्रफी जित्न नसक्दा त्यो उपलब्धिले पूर्ण सन्तुष्टि दिन नसकेको एम्बाप्पेको भनाइ छ । उनले व्यक्तिगत सम्मानभन्दा टोलीको सफलता आफ्ना लागि बढी महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
एम्बाप्पेले आफ्ना सहकर्मी खेलाडी, मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्स, सहयोगी टोली तथा पर्दापछाडि खटिने सम्पूर्ण सदस्यप्रति पनि आभार व्यक्त गरेका छन् । पत्रको अन्त्यमा उनले फुटबलले संसारभरका मानिसलाई एउटै भावनामा जोड्ने खेल भएको उल्लेख गर्दै आगामी दिनमा अझ बलियो रूपमा फर्किने प्रतिबद्धता जनाएका छन् ।
