काठमाडौं । टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको पहिलो सेमिफाइनलमा टिप टप न्यु डायमन्डले गणेश हिमाललाई २५–१८, २५–१० र २५–७ को सोझो सेटमा पराजित गर्यो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा न्यु डायमन्ड एकेडेमीले सरस्वती स्कुल, हेलम्बुलाई सीधा सेटमा २५–१७, २५–१२ र २५–१० ले हरायो ।
फाइनल बुधबार हुनेछ ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमश: १ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
