काठमाडौं । राजधानीमा जारी पीएल सिंह मेमोरियल टी-२० कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न खेलहरूमा भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले सहज जित दर्ता गरेका छन् ।
आज सम्पन्न भएको पहिलो खेलमा भरतपुर महानगरपालिकाले वीरगञ्ज महानगरपालिकालाई ७४ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ रोजेको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रनको बलियो योगफल खडा गरेको थियो ।
भरतपुरका लागि तल्लो क्रममा आएका गौतम केसीले आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४३ रन जोडे। यस्तै ओपनर पवन थापाले ३१ रन, रोशन झाले २१ रन र प्रतीक श्रेष्ठले १७ रनको योगदान दिए । वीरगञ्जका तर्फबाट बलिङमा विशाल पटेल र पवन सर्राफले समान २-२ विकेट लिए भने आशिक बैठा र रञ्जीत कुमारले १-१ विकेट हात पारे । १६८ रनको ठूलो लक्ष्य पछ्याएको वीरगञ्ज १७.३ ओभरमा मात्र ९३ रनमा अलआउट हुन पुग्यो ।
वीरगञ्जका लागि सन्तोष कार्कीले २४, मयन यादवले १८, अर्निको प्रसाद यादवले १७ र विशाल पटेलले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । वीरगञ्जलाई सस्तैमा समेट्न भरतपुरका सुभाष खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै प्रतीक श्रेष्ठले २ र गौतम केसीले २ विकेट झारे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका भरतपुरका गौतम केसी खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । त्यसैगरी आज सम्पन्न भएको दोस्रो खेलमा पोखरा महानगरपालिकाले विराटनगर महानगरपालिकालाई ९ विकेटको भारी अन्तरले पराजित गर्यो । खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९९ रन मात्र बनाउन सक्यो ।
विराटनगरका लागि ओपनर क्रिश शर्माले ३३ बलमा अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटर क्रिजमा जम्न सकेनन् । कृतिक कामतले १९ रन जोड्नु बाहेक टोलीका ७ खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् । विराटनगरलाई सस्तोमा रोक्न पोखराका स्पिनर विपिन खत्रीले जादुमयी बलिङ गरे । उनले ४ ओभरमा १ मेडनसहित मात्र २ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए ।
यस्तै सुवास भण्डारी र कृष्ण पौडेलले समान २-२ विकेट तथा सुदीप अर्यालले १ विकेट लिए । १०० रनको सामान्य लक्ष्य पछ्याएको पोखरा महानगरपालिकाले मात्र १०.४ ओभरमा १ विकेट गुमाउँदै ५६ बल बाँकी छँदै सहजै जित हासिल गर्यो । पोखराका लागि दीपक डुम्रेले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ५४ रनको अर्धशतकीय इनिङ खेले ।
त्यस्तै अर्जुन कुमालले ३१ बलमा अविजित ४२ रन बनाए। ईश्वर क्षेत्री १ रनमा आउट भएका थिए । विराटनगरका विपिन महतोले १ विकेट लिनु बाहेक अन्य बलर प्रभावहीन रहे । घातक बलिङ गरेका पोखराका विपिन खत्री खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए ।
