काठमाडौं । नेपाल प्रहरीका संयोग कपाली र नविता श्रेष्ठको जोडीले ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा शनिबार स्वर्ण जितेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग र नविताको जोडीले बागमती प्रदेशका प्रजिल भट्टराई र आश्मा पहरीको जोडीलाई ११–२, ११–४ र १५–१३ को सोझो सेटमा पराजित गरे ।
एपीएफका राजिव चिकवन्जार र योङगी पौडेल तथा नेपाल आर्मीका जयस्नु महर्जन र सुरम्य शाक्यको जोडी तेश्रो भए । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष डबल्समा बागमतीका सुजन गडाल र प्रजिल भट्टराईको जोडी पहिलो भए ।
उक्त जोडीले फाइनलमा एपीएफका राजिव चिकवन्जार र दीप साउनको जोडीलाई ११–७, ३–११, ११–७, ६–११, ११–३ को सेटमा हराए । बागमतीका कुशल न्याछो र रिजन शाक्य तथा प्रहरीका संयोग कपाली र एलेक्स महर्जनको जोडी तेश्रो बने ।

महिला डबल्सको उपाधि एपीएफका अनिता महर्जन र दीक्षा दाहालको जोडीले जिते । लगातार दुई सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै अनिता र दीक्षाको जोडीले जित हात पारे । उनीहरुको जोडीले फाइनलमा आफ्नै क्लबका दिया देउला र योङगी पौडीको जोडीलाई ९–११, ९–११, १४–१२, ११–८ र १३–११ ले पाखा लगाए ।
प्रहरीका रविना महर्जन र स्वेच्छा नेम्वाङ तथा कोशी प्रदेश सिक्का सुवाल र वियंका राईको जोडी तेश्रो भए । सिनियर, क्याडेट र जुनियर गरी ११ स्पर्धा समावेश प्रतियोगितामा शनिबारसम्म ९ स्वर्णको टुंगो लागेको छ ।
यसअघि क्याडेट यु–१५ सिंगल्सको ब्वाइजमा एपीएफका निश्चल थापा र गल्र्समा नेपाल आर्मीकी सुरम्य शाक्य तथा जुनियर यु–१९ सिंगल्सको ब्वाइजमा नेपाल आर्मीका जयस्नु महर्जन र गल्र्समा प्रहरीकी प्राज्ना महर्जनले स्वर्ण जितेका थिए । पुरुष-महिला टिम इभेन्टमा प्रहरी पहिलो भएको छ । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
