काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘एनसेल बिजनेस बाह्रखरी आमन्त्रण गल्फ प्रतियोगिता’को नवौं संस्करण वैशाख १९ मा हुने भएको छ ।

बिहीबार आयोजक बाह्रखरी मिडिया प्रा.लि.ले पत्रकार सम्मेलन प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिता लगातार दोस्रो संस्करण राजधानीस्थित गोकर्ण गल्फ कोर्समा हुनेछ ।

विगतका वर्षमा जस्तै प्रतिष्ठित व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउने, ‘इकोनोमिक सिम्पोजियम’मार्फत मुलुकको आर्थिक अवस्थामाथि मन्थन गरेर सरकारलाई नीति निर्माण र निर्णय प्रक्रियामा सहज तुल्याउने उद्धेश्यले नवौं संस्करण आयोजना गरिएको आयोजकले बताएको छ ।

आर्थिक क्षेत्रको नेतृत्वमा रहेका, देशभित्र र बाहिरका विभिन्न व्यावसायिक प्रतिष्ठानका ख्यातिप्राप्त व्यक्तित्वगरि कूल १ सय बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता बिहान ८ बजे देखि सुरु हुनेछ ।

काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधिश र सरकारी उच्च अधिकारीको पनि प्रतियोगितामा सहभागिता रहनेछ । प्रतियोगिताको ‘अल-राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै अन्य विभिन्न विधाका विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी कुनै प्रतियोगीले तोकिएकै होलमा एकै सटमा लक्ष्य प्राप्त गरेमा ‘होल इन वान’ पुरस्कारका रुपमा बीवाईडीको ‘एट्रो थ्री’ गाडी प्राप्त गर्नेछन् । समयको बचत गर्नेगरी प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन ।

प्रतियोगिताको उद्घाटन प्रधान सेनापति अशोकराज सिग्देलले गर्नेछन् । त्यस्तै ‘इकोनोमिक सिम्पोजियम’, सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रमुख अतिथिमा रहनेछन् । जसमा विश्वव्यापी रुपमा पछिल्ला दिनमा देखा परेका आर्थिक उतारचढावले नेपालजस्ता मुलुकलाई पार्ने असरका बारेमा विचार मन्थन हुनेछ ।

सिम्पोजियममा वाग्लेसहित भारतीय नीति आयोगका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा ‘जी २० शेर्पा’ अमिताभ कान्त र निर्वतमान अर्थमन्त्री रामेश्वर खनालले सम्बोधन गर्नेछन् । सँगै निजी क्षेत्रका अग्रणी व्यक्तित्वहरुको पनि कार्यक्रममा सम्बोधन हुनेछ ।

सिम्पोजियममा प्रतिनिधिसभाका सदस्य, राजनीतिक दलका नेताहरु, विज्ञ, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्सका प्रमुख पदाधिकारी तथा प्रतिनिधि, सरकारी तहका विशिष्ट व्यक्तित्व, कलाकार, कन्टेन्ट क्रियटर र पत्रकारलगायतको सहभागिता रहने आयोजकले जनायो ।

एनसेल मुख्य प्रायोजक रहेको प्रतियोगितालाई विद्युतीय गाडी बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज प्रालिले सह–प्रायोजकका रूपमा साथ दिएका छन् ।

त्यसैगरी जोनी वाकर, फोन पे, नबिल बैंक, ग्लोबल आइएमई बैंक, भाटभटेनी सुपर मार्केट, शिखर इन्स्योरेन्स, हिमालयन बैंक माछापुच्छ्रे बैंक, अजया डाइमन्ड, काल्र्सबर्ग र नेपाल पर्यटन बोर्डले पनि यस इभेन्टसँग सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *