प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
सोमबार कोशी प्रदेशलाई १८५ रनले पराजित गर्दै आर्मीले आफ्नो अपराजित यात्रालाई ८ खेलसम्म पुर्याएको हो ।
१५ अंकसहित फाइनलमा स्थान पक्का गरिसकेको आर्मीले एक खेलमा भने अंक बाढेको थियो । लिग चरणको आफ्नो अन्तिम खेलमा आर्मीले लुम्बिनी प्रदेशसँग खेल्नेछ ।
कोशीले भने जितविहीन रहँदै यो सिजनको प्रधानमन्त्री कप क्रिकेट टुंग्याएको छ। वर्षाका कारण आफ्नो पहिलो खेलमा मधेश प्रदेशसँग अंक बाढेको कोशीले बाँकी ८ खेलमा जित निकाल्न सकेन । मात्र एक अंक भएको कोशी तालिकाको पुछारमा रह्यो ।
सोमबार आर्मीले दिएको ३६३ रनको विशाल लक्ष्य पछाएको कोशी ३६ ओभरमा १७७ रनमा अलआउट भयो । कोशीका लागि प्रभात राईले सर्वाधिक ३८ रन बनाए । कप्तान सुजन थपलिया ३० रनमै पभिलियन फर्किए ।
आर्मीका लागि आकाश चन्दले ३ र बसिर अहमदले २ विकेट लिए । त्यसअघि जनकपुरको रामजानकी बहुउद्देशीय क्रिकेट रगंशालमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३६२ रन बनाएको थियो ।
आर्मीका कप्तान तथा ओपनर विनोद भण्डारीले विस्फोट ब्याटिङ गरे । १५० बलको सामना गरेका उनले १८९ रन बनाउँदै मैदान छाडे । १५० बलमा उनले ५ छक्का र २१ चौका प्रहार गरे ।
त्यस्तै, भीम सार्कीले ६५ बलमा ८० रन बनाए । कोशीका लागि विपिन महतोले ३ विकेट लिए ।
