रोमाञ्चक खेलमा बागमती विजयी

२०८२, ५ चैत्र बिहीबार १९:४९

काठमाडौं । सहिद स्मारक महिला लिगअन्तर्गत अत्यन्त रोमाञ्चक खेलमा बागमती युथ क्लब विजयी भएको छ ।

ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा बागमतीले आरएस पोखरामाथि ५–४ को संघर्षपूर्ण जित निकाल्यो ।

जितसँगै बागमतीले तीन अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

बागमतीको जितमा अस्मिता मगर र दीक्षा रानपालले समान दुई–दुई गोल गर्दा प्रजिता राईले एक गोल थपिन् । आरएस पोखराका लागि गीता श्रेष्ठले दुई गोल गरिन् भने तुलसी कुमारी वली र वर्षा कुँवरले समान एक–एक गोल योगदान दिए ।

खेलको सातौं मिनेटमै गीता श्रेष्ठको गोलमार्फत आरएसले अग्रता लिएको थियो । तर, त्यसको दुई मिनेटपछि अस्मिता मगरले गोल फर्काउँदै बागमतीलाई खेलमा फर्काइन् ।

दोस्रो हाफ झन् प्रतिस्पर्धात्मक बन्यो । ४८औं मिनेटमा तुलसी कुमारी वलीले गोल गर्दै आरएसलाई पुनः अग्रता दिलाइन् । तर, ५१औं मिनेटमा प्रजिता राईले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा ल्याइन् ।

६०औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई पहिलोपटक अग्रता दिलाइन् भने ६८औं मिनेटमा वर्षा कुँवरले गोल गर्दै खेल पुनः ३–३ को बराबरीमा पुगेको थियो ।

त्यसपछि बागमतीले खेलमा पकड जमायो । ७०औं मिनेटमा अस्मिता मगर र ७८औं मिनेटमा दीक्षा रानपालले गोल गर्दै बागमतीलाई ५–३ को मजबुत अग्रता दिलाए ।

८३औं मिनेटमा गीता श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर घटाए पनि बाँकी समयमा आरएस खेलमा फर्किन नसक्दा बागमतीले रोमाञ्चक जित हात पार्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *