सहआयोजक अमेरिकाले आईसीसी टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै १९७ रन बनायो।

अमेरिकाको आरोन जोन्सले अविजित रहँदै सर्वाधिक ९४ रन बनाए। ४० बल खेलेका उनले ४ चौका र १० छक्का प्रहार गरे।

एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए। कप्तान मोनाक पटेल १६ रनमा आउट हुँदा कोरी एनडर्सन ३ रनमा अविजित रहे।

क्यानडाका कलीम सना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए। त्यसअघि ग्रान्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

क्यानडाका नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। ४४ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। पहिलो विकेटका लागि उनले अरन जोन्सनसँग ३२ बलमा ४३ रनको साझेदारी गरेका थिए।

जोन्सन छैटौं ओभरको दोस्रो बलमा २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन बनाए।

दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट हुँदा श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे। अमेरिकाका अली खान, हरमीत सिंह र कोरी एन्डर्सनले १/१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *