बिर्तामोड । आयोजक भद्रपुर क्रिकेट क्लबले कोशी पाथिभरा इण्डो नेपाल टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ ।

भारत आसामको राइनोल्याण्ड क्रिकेट क्लबलाई आज फाइनलमा ४ विकेटले पराजित गर्दै भद्रपुरले उपाधि रक्षा गरेको हो ।

भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा उल्लेख्य दर्शकका माझ दुबै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि भद्रपुर च्याम्पियन बन्यो ।

टस जितेर भद्रपुरले पहिलो फिल्डिङ रोजेको थियो।  राइनोल्यान्डले सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरमा टिमको स्कोर ५ रन हुँदा गोकुल शर्मालाई गुमाएको आसाम त्यसपछि खेलमा उल्लेखनीय ढंगले फर्किन सकेन ।

१७.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमा समेटिएको आसामका तर्फबाट रोहित सेनले १५ बलमा सर्वाधिक २४ रन बनाए भने कप्तान निबिर डेकाले १५ रन र मोहम्मद हबिबुल्लाहले व्यक्तिगत १२ रन बनाउनेबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

आसामलाई सस्तैमा समेट्न भद्रपुरका तर्फबाट भुवन कार्की र विपिनकुमार महतोले समान ३ विकेट लिए भने सिद्धार्थ कुमाल, दिपक बोहोरा र दिनेश अधिकारीको खातामा १–१ विकेट पर्यो ।

जवाफमा भद्रपुरको पनि ब्याटिङ सुरुआत राम्रो हुन सकेन । दोस्रो ओभरको पहिलो बलमै दिपक बोहोरालाई व्यक्तिगत १ रनमा गुमाएको भद्रपुरको ३० रन हुँदा ५ विकेट झरिसकेको थियो ।

भुवन कार्की र मुहमद आदिल आलमले पारीलाई सम्हाल्दै ७७ रनसम्म पुर्याए । ७७ रनमा आदिलको विकेट पतन भयो । उनले सर्वाधिक ३९ रनको योगदान दिए । अन्त्यमा भुवन कार्की र श्रवण यादवले नटआउट रहँदै टिमलाई जित दिलाए ।

बलिङमा आसामका तर्फबाट गोकुल शर्मा र प्राञ्जल भारालीले समान २–२ विकेट लिए भने तपनकुमार शर्मा र अनुप सोनारले १–१ विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टिमका भुवन कार्की भए । उनले नगद ११ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट फिल्डर भद्रपुरका भुवन कार्की, इमर्जिङ प्लेयर आसामका निबिर डेका र  बेस्ट ब्याटर लखनऊका रमन कादयान भए । उनीहरुले नगद २५ हजार पुरस्कार प्राप्त गरे ।

प्लेयर अफ द टुर्नामेन्ट गोकुल शर्मा भए । उनले ५१ हजार नगद प्राप्त गरेको आयोजक क्लवका महासचिव वसन्त पोखरेलले जानकारी दिए ।

विजेता टिम तथा खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेशसभा सदस्य छविलाल चुडाल, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, गोर्खा टि इन्डस्ट्रिज इलामका सञ्चालक उदय चापागाईं, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक क्लवका अध्यक्ष आदित्य पराजुलीलगायतले पुरस्कार वितरण गरेको क्लबका सचिव केदार महतले जानकारी दिए ।

कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षसमेतलाई जोडेर माघ २१ गतेदेखि आयोजना गरिएको प्रतियोगिता राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बटुल्दै सफलतापूर्वक सम्पन्न भएको प्रतियोगिताका संयोजक एवम् भद्रपुर ८ का वडा अध्यक्ष गौरव सुब्बा ‘मनोज’ ले बताए ।

उपाधिसहित भद्रपुरले ५ लाख पुरस्कार र ट्रफी तथा  आसाम टोलीले ३ लाख प्राप्त गरेको छ।‌ गरेको प्रतियोगिताका संयोजक गौरव सुब्बा ‘मनोज’ ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *