आईसीसी पुरुष टी-२० विश्वकमा आज नेपालले दोस्रो खेल खेल्दै छ । नेपालले आज मुम्बईको वानखेडे रंगशालामा नेपाली समयअनुसार सवा ३ बजे इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
टी–२० आईमा इटाली र नेपालबिच अहिलेसम्म कुनै खेल भएको छैन । तर, ५० ओभरको फर्म्याटमा भएको तीन भेटमा नेपालले इटालीलाई हराएको छ । १३ वर्षपछि इटलीसँग खेल्दा नेपाल १२ वर्षपछि जितको खोजीमा पनि हुनेछ । नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्धको खेल जितेपछि विश्वकपको खेल जितेको छैन ।
दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो । यसअघि पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको थियो । पहिलो खेलमा पराजित भए पनि दोस्रो खेलमा जित निकाल्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ । उता, इटाली स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो ।
सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ । नेपाल रहेको समूह सी मा इटाली, इङ्ल्याण्ड, वेस्ट इण्डिज र स्कटल्याण्ड छन् । बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी बरियताका आधारमा स्कटल्यान्डले अवसर पाएको हो ।
समूह सी को अंकतालिकामा नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन् । यो समूहमा लगातार दोस्रो दोस्रो जित हासिल गर्दै वेस्ट इन्डिज ४ अंकसहित शीर्ष स्थानमा छ । एक खेलमा जित र एकमा हार गरेको स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा छन्। समान २-२ अंक भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा भएका हुन् ।
समूह चरणका खेलबाट शीर्ष स्थानमा पुग्ने २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जितको आवश्यकता छ ।
यसअघि समुह बी अन्तर्गत श्रीलंका र ओमानबीच पहिलो खेल हुँदैछ । श्रीलंकाको पाल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ । श्रीलंकाले यसअघि पहिलो खेलमा जित हासिल गरेको छ भने ओमानले आफ्नो पहिलो खेलमा हार बेहोरेको छ ।
त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गत भारत र नामिबियाबीच हुदैछ । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेल जितेको छ भने नामिबियाले पहिलो खेलमा हार बेहोरेको छ ।
