विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायमण्डले नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमण्डले पुलिसलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो र दोस्रो सेटमा न्यु डायमण्ड २५–२२ र २५–१८ ले जितेको थियो ।
तेस्रो सेट भने १५–२५ ले गुमायो । उक्त सेट पुलिसले आफ्नो नाममा पारेसँगै खेल चौंथो सेटसम्म धकेलिएको थियो । तर, न्यु डायमण्डले पुनरागमन गर्दै २७–२५ ले जितेसँगै उपाधि हात पार्यो ।
यसैगरी एपिएफ क्लब तेस्रो भएको छ । त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउँदै एपिएफ तेस्रो भएको हो ।
उपाधिसँगै न्यु डायमण्डले ५ लाख पायो भने उपविजेता पुलिसले २ लाख ५० हजार पायो । तेस्रो एपीएफले १ लाख २५ हजार पाउँदा चौथो भएको आर्मीले ६५ हजार पायो ।
