काठमाडौं । लगातार दोस्रो जित निकाल्दै न्यु डाइमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनल नजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा न्यु डाइमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

यस जितसँगै समूह ‘ए’ मा रहेको न्यु डाइमन्डले ६ अंक जोडेको छ । यसअघि न्यु डाइमन्डले पहिलो खेलमा चुली युवा क्लबलाई पनि सोझो सेटमै हराएको थियो ।

लिग चरणका सबै खेल सकाएको आर्मीको पनि समान ६ अंक छ । आर्मीले एभरेस्ट भलिबल क्लब र चुली युवा क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

अब न्यु डाइमन्डले आफ्नो अन्तिम लिग खेलमा एभरेस्ट भलिबल क्लबको सामना गर्नेछ । चुलीले एभरेस्टसँग एक खेल खेल्न बाँकी छ भने एभरेस्टले चुली र न्यु डाइमन्ड दुवैसँग खेल्न बाँकी नै छ । त्यसैले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो न्यु डाइमन्ड र एभरेस्टबीचको खेलको नतिजाले तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *