हरैँचा (मोरङ) । मोरङको सुन्दरहरैँचामा भएको दोस्रो हरैँचा नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान सुनसरीको पट्नाली एफसीले जितेको छ ।

सुन्दरहरैँचा-१ स्थित हात्तिसार खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा पट्नालीले बेलबारी मोरङको बेतना युनाइटेड क्लबलाई २-१ ले पराजित गर्यो ।

निर्धारित २५-२५ मिनेट खेलाइएको खेलमा अग्रता पट्नालीले लिएको थियो । पहिलो हाफको २२औं मिनेटमा दोर्जे तामाङको गोलमा पट्नालीले अग्रता लिएको हो । दोस्रो हाफ शुरु भएको पहिलो मिनेट मै किस्मत लिम्बुले बेतनाका लागि बराबरी गोल फर्काए ।

त्यसको दुई मिनेट पछि नै दोर्जेले ब्यक्तिगत तथा पट्नाली लागि दोस्रो गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा पट्नाली विजयी भयो ।

उपाधिसँगै पट्नालीले नगद रु ५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बेतनाले रु ३० हजारमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ दि म्याच पट्नालीका दोर्जे तामाङ घोषित भए । उनले रु एक हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको उत्कृृष्ट गोलरक्षक बेतनाका समिर क्षेत्री, उत्कृृष्ट डिफेन्डर पट्नालीका बिकु राई, उदयीमान खेलाडी आयोजक श्री हरैँचा स्पोर्टिङ क्लबका युनिस खवास घोषित हुँदा सार्वधिक गोलकर्ताको अवार्ड बेतनाका किस्मत लिम्बुले पाए । विधागततर्फ सबैले जनही रु २५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पट्नालीका पेरिस केसी घोषित भए । उनले रु पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपलिका वडा नं १ का वडा अध्यक्ष राम विश्वासले रेफ्रिलाई बल हस्तान्तरणगरी फाइनल खेल शुरुवात गराउनु भएको थियो ।

कार्यक्रममा हरैँचा खानेपानी तथा सरसफाई तथा विराट गोल्डकप ट्रस्टका उपाध्यक्ष किशोर तिम्सिना, हरैँचा मोडल इङ्लिस स्कुलका प्रिन्सिपल रुद्र थापा, नर्सिङ स्कुलका प्रिन्सिपल केशव सापकोटा, सुन्दरहरैँचा कार्यपालिका सदस्य दयाराम खवास, पूर्व राष्ट्रिय फुटबल खेलाडी देवनारायण चौधरी, काली भगवती मन्दिरका अध्यक्ष बद्री बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

श्री हरैँचा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता मंसिर ५ देखि १२ गतेसम्म सञ्चालन भएको हो । प्रतियोगितामा ८ क्लबको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *