काठमाडौं । उपाधि रक्षा अभियानमा रहेको वडा नं १६ ले प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । लैनचौर फुटसल मैदानमा सोमबार वडा नं १६ ले वडा २ लाई ५-१ ले हरायो ।
वडा १६का लागि प्रिन्स महर्जनले दुई तथा विक्रम श्रेष्ठले एक गोल गरे । ब्योग रजक र सरोज रजकले आफ्नै गोलपोस्टमा बल छिराएपछि वडा १६ ले आत्मघातीस्वरुप दुई गोल उपहार पाएको थियो।
वडा २ का लागि बुजल रजकले एक गोल फर्काए । सो खेलमा प्रिन्स म्यान अफ दि म्याच चुनिए । अन्य खेलमा वडा २८, वडा २६ र वडा ११ ले जित हात पारे । यी तीनै खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको हो ।
वडा २८ ले वडा २१ लाई टाइब्रेकरमा ५-४ ले हरायो । निर्धारीत समयको खेल १-१ ले सकिएको थियो । वडा २१ का लागि रोनस महजृन र वडा २८ का लागि उदेश खड्गीले गोल गरेका थिए । सो खेलमा वडा २८ का सिरिस वज्राचार्य म्यान अफ दि म्याच बने ।
वडा २६ ले वडा ३१ लाई टाइब्रेकरमा ६-५ ले निराश बनायो । निर्धारति समयमा दुवै टिमले २-२ गोल गरेका थिए । वडा २६ का लागि म्यान अफ दि म्याच अमूल दुवै गोल गरे भने वडा ३१ का लागि दिपक लामा र दिपेन्द्रसिंह ठकुरीले गोल गरेका थिए ।
यसैगरी वडा ११ ले वडा १५ लाई पेनाल्टी सुटआउटमा ६-५ ले नै हरायो । वडा ११ का शंकरध्वज र वडा १५ का सञ्जीव श्रेष्ठको गोलबाट निर्धारीत समयको खेल १-१ ले बराबरीमा टुङ्गिएको थियो । सो खेलमा विजयी टिमका शंकरध्वजले म्यान अफ दि म्याचको पुरस्कार पाए।
प्रतियोगिताअन्तर्गत मंगलबार प्रिक्वाटरफाइनलका चार खेल हुनेछन् । पहिलो खेलमा आयोजक वडा २३ ले वडा १३, दोस्रो खेलमा वडा १९ ले वडा २४, तेस्रो खेलमा पहिलो संस्करणको विजेता वडा १४ ले वडा २५ र चौथो खेलमा वडा ६ खेल वडा २० को सामना गर्नेछ ।
