शिवसताक्षी (झापा) । विभागीय टोली एपीएफ फुटबल क्लब एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार शिवसताक्षीस्थित दूधे रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब टाइब्रेकरमा पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।

एपिएफले आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।

खेलको ६३औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । डिफेन्डर निशा थोकर र गोलरक्षक अञ्जना रानाबीचको तालमेल बिग्रँदा एपिएफले गोल खान पुग्यो ।

तर, एपिएफकी अनिता बस्नेतले खेलको इन्जुरी समयको तेस्रो मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले फ्रिकिक प्राप्त गरेको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफकी गोलरक्षक अञ्जना राना मगर घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

अब एपीएफले सोमबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा क्लवलाई २-० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

कुल ८ टोली सहभागी प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र सार्वधिक गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *