पथरी (मोरङ) । सिरहाको सलहेश युवा क्लबले अन्तराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकप २०८२ को उपाधि जितेको छ ।

शनिबार पथरी रंगाशाला सम्पन्न फाइनल खेलमा आयोजक इन्ट्रा पथरी-११ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सलहेशले उपाधि उचालेको हो ।

उपाधिसँगै सलहेशले नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता बनेको घरेलु टिम पथरी-११ ले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

खेलमा अग्रता भने पथरी-११ ले लिएको थियो । खेलको १९औं मिनेटमा धिरेन क्षेत्रीले पेनाल्टीमार्फत गोल गर्दै पथरी-११ लाई अग्रता दिलाएका थिए । सलहेशका कप्तान कुलदिप कार्कीले विपक्षी खेलाडी निरज परियारलाई डिबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्याम दनुवारले पथरी-११ लाई पेनाल्टीको अवसर दिएका थिए ।

खेलको ६३औं मिनेटमा सलहेशले पनि पेनाल्टी प्राप्त गर्यो । पथरी-११ का गोलरक्षक समिर क्षेत्रीले डिबक्स भित्र सलहेशका विदेशी फरवार्डलाई लडाएपछि रेफ्रीले सलहेशलाई पेनाल्टीको अवसर दिए । जय गुरुङले पाएको पेनाल्टीको सदुपयोग गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । समिर तामाङले ७३औं मिनेटमा निर्णायक गोल गर्दै सलहेशलाई २–१ को जित दिलाए ।

खेलमा सलहेशका जय गुरुङ म्यान अफ दी म्याच बन्दै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पथरी-११ का युकेश तामाङ घोषित भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

उत्कृष्ट गोलरक्षक सलहेशका रेम्बो चौधरी, उत्कृष्ट डिफेन्डर पथरी-११ का धिरेन क्षेत्री, उत्कृष्ट डिफेन्डर पथरी-११ का सञ्जय लिम्बु, उत्कृष्ट प्रशिक्षक सलहेशका राजिब कुमार यादव, राइजिङ प्लेयर पथरी-११ का गोलरक्षक समिर क्षेत्री र सार्वधिक गोलकर्ता सलहेशका रिचार्ड विल्सन घोषित भए ।उनीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथी पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहन तुम्बापो, एन्फा केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजिव बुढाथोकी पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *