वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले प्रतियोगिताको दोस्रो संस्करणका लागि ट्रफी टुर र ट्यालेन्ट हन्ट कार्यक्रम भैरहवामा सञ्चालन गर्ने भएको छ ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने टोली लुम्बिनी लाभाजले भदौ ९ गते रुपन्देहीको भैरहवामा ‘ट्रफि टुर’ तथा ‘ट्यालेन्ट हन्ट कार्यक्रम’ सञ्चालन गर्ने भएको हो ।
लुम्बिनी लाभाजका अनुसार मायादेवी मन्दिर परिसरमा ट्रफी अनावरण गरी लुम्बिनी प्रदेशका विभिन्न स्थानमा ट्रफी परिक्रमा गराइनेछ । ट्रफी टुर र ट्यालेन्ट हन्टको उद्देश्य प्रदेशभित्र भलिबल खेलप्रतिको जनचासो र स्थानीय समुदायसँगको सम्बन्ध विस्तार गर्नु रहेको क्लबले जनाएको छ ।
ट्यालेन्ट हन्ट कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेशका प्रतिभावान र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले लुम्बिनी लाभाज टोलीमा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । टिम व्यवस्थापकका अनुसार ट्यालेन्ट हन्टमार्फत छनोट भएका खेलाडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगितामा अवसर प्रदान गरिने लक्ष्य राखिएको छ ।
कार्यक्रमको सम्पूर्ण व्यवस्थापन सिद्धार्थ जेसिसले गर्नेछ । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन इच्छुक खेलाडीहरूले तोकिएको मापदण्ड अनुसार सिद्धार्थ जेसिसमा सम्पर्क गर्नु पर्नेछ ।
यसअघि सम्पन्न अक्सनमार्फत लुम्बिनी लाभाजले नेपाली राष्ट्रिय महिला भलिवल टोलीकी कप्तान अरुणा शाहीका साथै कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ ।
नेपाल भलिबल संघसँगको सहकार्यमा इन्फिनिटी ड्रिम्स प्रा.लि.ले आयोजना गरेको प्रतियोगिता भदौ २० देखि २८ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ ।
