ललितपुर । ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय रापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् ।
ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न खुल्ला चेस प्रतियोगितामा आशिष फुयालले सात चरणको खेल मार्फत ६.५ अङ्क प्राप्त गर्दै विजयी भएका हुन् ।
कुल १०३ जना राष्ट्रिय खेलाडीहरू सहभागी रहेको प्रतिस्पर्धामा आशिषले विजयी बन्दै नगद पुरस्कार रु. २० हजार, ट्रफी, स्वर्ण पदक हात पारेका छन् ।
स्पर्धामा रौतहटका एफएम रुपेश जयसवालले एकल ६ अङ्क जोडेर द्वितीय बन्दै नगद पुरस्कार रु.१५ हजार र रजत मेडल प्राप्त गर्न सफल भएका छन् ।
अन्तिम खेल पश्चात ५ दशमलव ५ अङ्क प्रोग्रेसिभ ३२ पोइन्टका आधारमा काठमाडौँका सीएम पुरुषोत्तम सिलवाल तृतीय बन्न सफल भए । उनले नगद १० हजार र काश्य पदक प्राप्त गरेका छन् ।
समान ५.५ अङ्क प्राप्त गरेका खोटाङका धिरेन राईले म्याच प्वाइन्ट ३०.५ र टाइब्रेक २६.५ जोडेर चौथो स्थानमा उभिँदै नगद ८ हजार प्राप्त गरेका छन् ।
मकवानपुरका एफएम क्षितिज भण्डारी समान अंक, समान म्याच प्वाइन्ट र टाइब्रेकर २६ मा .५ ले पछि रहँदै पाचौं स्थानको नगद पुरस्कार रु. ६ हजार जितेका छन् ।
समान ५.५ अङ्क जोडेर सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका बद्रीलाल नेपाली, रौतहटका पुरुषोत्तम चौलागाईं, काठमाडौँका केशव श्रेष्ठ र ललितपुरका सुरज महर्जनले छैठौंदेखि दशौं स्थानसम्म रहँदै जनही चार चार हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
यसैगरी कास्कीकी पूजा भण्डारी ४ अङ्क जोडेर महिला विधातर्फ प्रथम, काठमाडौँकी सिन्दिराज जोशी द्वितीय र सुनसरीकी शान्ति धिमालले तृतीय स्थान प्राप्त गरेका छन् ।
युवा १६ तर्फ काठमाडौँका आदित्य गजुरेल, सिन्धुपाल्चोकका सजल न्यौपाने र कञ्चनपुरका शुभम जोशी, युवा १४ तर्फ काठमाडौँका अनमोल घिसिङ, हर्ष वर्धन राठी, कञ्चनपुरका सार्थक पन्त, अनरेटेड तर्फ सोहोम श्रेष्ठ, जेनिसलाल श्रेष्ठ, विपिन आचार्य उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।
यस्तै उत्कृष्ट क्रमश: ललितपुरतर्फ रत्न व्यञ्जनकार, सानो राजा बज्राचार्य र कमल श्रेष्ठ, उत्कृष्ट सिनियर तर्फ भक्तपुरका गणेशमान दुवाल, १८०० रेटिङ मुनि नुवाकोटका सुरेन्द्र लामा र १७०० रेटिङ मुनि धादिङका तारामान श्रेष्ठ पुरष्कृत भएका छन् ।
