नेपाल हङकङसँग ७ विकेटले पराजित

२०८२, ३० बैशाख मंगलवार १७:३६

नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग डकबर्थ लुइस (डिएलएस) का आधारमा सात विकेटले पराजित भयो ।

जितका लागि नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गरेको हो । वर्षाका कारण टसमा ढिलाइ भएपछि खेल पाँच ओभरमा झारिएको थियो ।

हङकङका लागि शान्जिन शहजादले अविजित १५ र मारिको हिलले ११ रन बनाइन् । बलिङमा नेपालकी कविता कुँवरले दुई विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २९ रन बनाएको थियो ।

नेपालका लागि सम्झना खड्काले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान इन्दु बर्मा नौ रन बनाइन् । बलिङमा हङकङका लागि तीनै विकेट एलिसन सिउले लिइन्।

यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो । हङकङले बहराइनसँग पनि अंक बाँडेको थियो ।

जितसँगै तीन खेलबाट चार अंक बनाएको हङकङ समूह ‘सी’ को शीर्ष स्थानमा छ । समान खेलबाट तीन अंक बनाएको नेपाल दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *