यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा हालसम्मकै सबैभन्दा नाटकीय खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
वर्षाले प्रभावित र पटक–पटक अवरुद्ध खेलमा गुजरातले अन्तिम बलमा लक्ष्य पूरा गर्दै रोमाञ्चक जित दर्ता गर्यो । मंगलबार राति वर्षाका कारण पटक–पटक रोकिएको खेललाई १९ ओभरमा झारिएको थियो ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य गुजरातले सात विकेट गुमाउँदै १४७ रन बनाएर पुरा गर्यो । अन्तिम बलमा अर्सद खानले एक रन लिएर टोलीलाई जित दिलाएका थिए ।
वर्षा सुरु हुँदा गुजरातले १४ ओभरमा दुई विकेट गुमाएर १०७ रन बनाएको थियो । त्यस समयमा डकवर्थ लुइस प्रणालीअनुसार गुजरात ८ रनले अघि थियो । खेल पुनः सुरु भएपछि भने मुम्बई खेलमा नाटकीय रूपमा फर्कियो ।
१५औं ओभरमा जसप्रित बुमराहले कप्तान शुभमन गिललाई ४३ रनमा आउट गर्दै खेलको समीकरण बदल्न थाले । त्यसपछि गुजरात लगातार विकेट गुमाउँदै दबाबमा पर्यो । बोल्टले १६औं ओभरमा रुदरफोर्डलाई पवेलियन फर्काए भने बुमराहले १७औं ओभरमा साहरुख खानलाई आउट गरे । अश्वीन कुमारले १८औं ओभरमा रसिद खानलाई आउट गर्दै मुम्बईलाई फाइदा दिलाए ।
गुजरातको जितमा कप्तान शुभमन गिलले ४३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्का प्रहार गरे । जस बटलरले २७ बलमा तीन चौका र एक छक्कासहित ३० रन थपे । शेरफन रुथरफोर्डले २८ रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् ।
मुम्बईका ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र अश्वानी कुमारले समान दुई विकेट लिए । दीपक चहरले एक विकेट लिए ।
त्यसअघि वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेट गुमाएर १५५ रनको योगफल तयार पारेको थियो ।
मुम्बईका लागि विल ज्याक्सले सर्वाधिक ५३ रन बनाएका थिए । सूर्यकुमार यादवले ३५ र कोर्बिन बोस्कले २७ रन थपे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंक जोड्न सकेनन् ।
गुजरातका लागि साई किशोरले दुई विकेट लिए । मोहम्मद सिराज, अर्शद खान, प्रशिद्ध कृष्णा, राशिद खान र गेराल्ड कोएट्जेले समान एक विकेट लिए ।
जितसँगै ११ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।
