नेपाल पुलिस क्लबलाई हराउँदै इरानी टोलीले पोखरामा भएको प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि जितेको हो ।
पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधि रक्षा गर्यो । इरानले तेस्रो सेट २५-१८ र चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको हो ।
उपाधि जितेको इरानी टोलीले ४ लाख ४४ हजार ४४४ हात पार्यो । उपविजेता बनेको २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो ।
यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबलले तेस्रो स्थान हासिल गरेको थियो ।
पहिलो सेट २९-२७ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२-२५ ले गुमाएको आर्मीले चौथो सेट २५-२३ ले जित निकाल्दै तेस्रो हुन सफल भयो ।
तेस्रो हुने आर्मीले १ लाख ४४ हजार ४४४ प्राप्त गर्यो ।
