पुलिस एमएम कपको फाइनलमा

२०८२, १८ बैशाख बिहीबार १८:३९

विभागीय टोलि नेपाल पुलिस क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिहिबार सम्पन्न प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा पुलिसले भारतको आसाम क्रिकेट क्लब टिमलाई पराजित गर्दै फाइनलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मी क्लबसंगको भेट पक्का गरेको हो ।

पुलिस समुह बि को विजेता बन्दा आसाम र कोशी प्रदेश भने बाहिरिएका छन् । समुह ए को विजेताको रुपमा आर्मी यस अघिनै फाइनल प्रवेश गरिसकेको छ । उपाधिको लागि शनिवार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच प्रतिस्पर्धा हुनेछ । खेल विहान ९ बजे सुरु हुनेछ ।

बिराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले ६ विकेटको जित दर्ता गर्यो । अघिल्लो खेलमा कोशी प्रदेशसंग पराजित भएको पुलिसले फाइनल पुग्न आसामले दिएको १५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने थियो । पुलिसले २६.१ ओभरमा ४ विकेट मात्र गुमाएर जित दर्ता गर्यो ।

पुलिसको ब्याटिंगमा अमित श्रेष्ठ र कप्तान शंकर रानाले अविजित रहँदै अर्धशतकीय योगदान दिए । अमितले ७२ बलमा ५ चौका र ३ छक्का मद्दतले ७१ रन बनाए । यस्तै छैठौं नम्बरमा ब्याटिंग गरेका शंकरले ६७ बलमा ४ चौका र ४ छक्का मद्दतले ६३ रन बनाए ।

४३ रनमा ४ विकेट गुमाएको अवस्थामा अमित र शंकरले पाँचौ विकेटको लागि अविजित ११७रनको साझेदारी गर्दै जितसम्म पुर्याए । आसामको ब्याटिंगमा गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए । चिरन्तन खात्तिनियरले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आसामले ४२.२ ओभरमा १५४ रनमा सबै विकेट गुमायो । आसामको लागि ओपनर राज विश्वले सर्वाधिक ३३ रन योगदान दिए । यस्तै अरुण सोनारले ३१, केभिन संजिवले २३ तथा हियम कश्यपले १९ रन बनाए ।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनर अरुण ऐरी र दायाँ हाते पेसर श्रवन यादवले ३-३ विकेट लिए । ऐरीले ९ ओभरमा १ मेडन गर्दै १७ रन खर्चिए भने यादवले ३ ओभरमा ७ रन खर्चिए । बिपिन खत्री, सुनिल दौल्याल, चित्र बिस्ट र दिपक डुम्रेले १-१ विकेट लिए ।

एमएम कप फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *