बिराटनगरमा जारी एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतको आसाम क्रिकेट क्लबले जित दर्ता गरेको छ ।

बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा आसामले कोशी प्रदेशलाई ९७ रनको ठूलो अन्तरले पराजित गर्यो । २१० रनको लक्ष्य पछ्याएको कोशीले ३७.२ ओभरमा ११२ रनमा सबै विकेट गुमायो ।

कमजोर ब्याटिङ गरेको कोशीको लागि आइस भट्टराई र बिपिन महतोले सर्वाधिक १५ रन योगदान दिए । चिराग शाहले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आसामको बलिंगतर्फ तापन कुमार शर्मा र गोकुल शर्माले समान ३ विकेट लिए । राज विश्वले २ तथा चिरन्तन खत्तिनियर र अमित सिन्हाले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको आसाम क्रिकेट क्लबले ४७.३ ओभरमा २०९ रनमा सबै विकेट गुमाएको थियो ।

आसामको ब्याटिङमा कप्तान गोकुल शर्माले सर्वाधिक ७८ रन योगदान दिए जुन क्रममा उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अरुण सोनारले ५१ रन बनाए जुन क्रममा ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

राज विश्वले २४, केभिन संजिवले १५ तथा अमित सिन्हाले १२ रन बनाए । ३३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट चौंथो विकेटको लागि गोकुल र अरुणले शतकीय साझेदारी गर्दै १०६ रन जोडे ।

कोशी प्रदेशको बलिंगमा देब्रे हाते स्पिनर प्रेम कामतले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन गर्दै ४ विकेट लिए । बिपिन कुमार महतो र भुपाल लुइँटेलले समान २ विकेट लिए । फिर्दोश अन्सारी र प्रकाश कार्कीले १-१ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका आसामका गोकुल शर्मा प्लेयर अफ द म्याच घोषित भए ।

आफ्नो पहिलो खेलमा कोशीले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आसामसंग हार पछि अब समुह ‘बि’ बाट फाइनल पुग्ने टिमको निर्णय बिहिबार हुने नेपाल पुलिस क्लब र आसामबीचको खेलले निर्धारण गर्नेछ ।

आसामले पुलिसलाई पराजित गरेको खण्डमा आसाम दुवै जितको साथ समुह विजेताको रुपमा फाइनल पुग्नेछ । यदी पुलिस विजयी भएको खण्डमा पुलिस, कोशी र आसाम मध्ये नेट रन रेटमा अघि हुने टिम फाइनल पुग्नेछ । समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ ।

प्रतियोगितामा ६ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ । समुह ‘ए’ मा शशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश छन् । समुह ‘बि’ मा नेपाल पुलिस क्लब, कोशी प्रदेश र भारतको आसाम क्रिकेट टिम रहेका छन् ।

प्रतियोगिताको विजेता टोलीले रु. ४ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ । उपविजेता टोलीलाई रु. २ लाख नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल दिइनेछ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. २५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु. १५ हजार तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. ४ हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *