इण्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्सले चौथो जित हात पारेको छ ।

त्यसक्रममा उसले मंगलबार दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए । उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान अक्षर पटेलले ४३, विपराज निगमले ३८ रन र करूण नायरले १५ रन बनाए । यी चार बाहेक अन्यले दोहोरो रन छुन सकेनन् ।

कोलकाताका लागि सुनिल नरायनले ४ ओभरमा २९ रन दिएर सार्वधिक ३ विकेट लिए । वरुण चक्रवर्तीले २ तथा अनुकुल रोय, आन्द्रे रसेल र वैभव अरोराले १-१ विकेट लिए ।

त्यसअघि अरूण जैटली स्टेडियममा दिल्लीले टस हारेर ब्याटिङक निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०४ रनको योगफल तयार पारेको थियो ।

कोलकाताका लागि अंगकृष रघुवंशीले सार्वधिक ४४ रन बनाए । उनले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।यस्तै, रिंकु सिंहले ३६, सुनिल नारायणले २७ तथा रहमानुल्लाह गुर्बाज र कप्तान अजिंक्य रहाणेले समान २६ तथा आन्द्रे रसेलले १७ रन बनाए ।

दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४३ रन दिएर सर्वाधिक ३ विकेट लिए । विपराज निगम र अक्षर पटेलले समान २ तथा दुस्मान्था चमीराले १ विकेट लिए ।

जितसँगै १० खेलमा ९ अंक जोडेको कोलकाता सातौं स्थानमा छ । लगातार तेस्रो हार ब्यहोरेको दिल्ली समान खेलबाट १२ अंकसहित चौथो स्थानमा छ । सुरुवाती ४ खेलमा लगातार जित निकालेको दिल्लीले त्यसयता ६ खेलमा २ खेल मात्र जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *