नेपाल उसु महासंघको तत्वावधान तथा सुदरपश्चिम प्रदेश उसु संघको आयोजनामा ७ औं राष्ट्रिय उसु निर्णायक तथा ११ औं राष्ट्रिय उसु डिप्लोमा परिक्षा कोर्स धनगढीमा सम्पन्न भएको छ ।
एक सातसम्म चलेको उक्त सेमिनारमा अन्तर्राष्ट्रिय उसु महासंघ (आईडब्लुयुएफ) ‘ए’ ग्रेट लाइसेन्स होल्डर सान्सौ विधातर्फ जज रतन बहादुर खाति र गोविन्द बहादुर शाहिले प्रशिक्षण दिएका थिए ।
त्यस्तै थाउलो विधातर्फ मंन्जुर महर्जन, राजेन्द्र कुमार बुढाथोकी, अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठ, जुनि राई, दक्षिण एसियाली जज प्रकास शाहीले प्रशिक्षण दिएको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए ।

उक्त सेमिनारमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी, बागमती, कोशी प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तर्फबाट गरि ११० जना प्रशिक्षार्थीले सहभागिता जनाएको आयोजक कमिटिका संयोजक तथा सुदुरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजीब गुप्ताले जानकारी दिए ।
परिक्षामा उत्तिर्ण हुने परिक्षार्थीहरुलाई प्रमुख अथिति सुदुरपश्चिम प्रदेस सरकारका समाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, नेपाल उसु महासंघका अध्यक्ष बीर बहादुर तामाङ, उपाध्यक्ष दुष्यान बस्नेत लगायतले प्रमाण-पत्र, लाइसेन्स, उसु टाई र मानोग्राम प्रदान गरेका थिए ।
उसु निर्णायक सेमिनारमा उत्कृष्ट हुने सहभागीहरुले निकट भविष्यमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिनारमा सहभागि हुन पाउने छन् । त्यस्तै अन्तर्राष्ट्रिय उसु महासंघ र एसियन उसु महासंघद्वारा आगामी वर्षहरूमा संचालन हुने अफिसियल जज सेमिनारमा समेत सहभागि हुन पाउने नेपाल उसु महासंघले जनाएको छ ।
