इण्डियन प्रिमियर लिग (आईपिएल) २०२५ मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बिहिवार राति राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्दै आरसिबी ९ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको हो । राजस्थान समान खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।
आरसिबीले दिएको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो । राजस्थानका लागि यशस्वी जैसवालले सर्बाधिक ४९, ध्रुब जुरेलले ४७, नितिश रानाले २८ र कप्तान रियान परागले २२ रन बनाए ।
आरसिबीका लागि जोश हेजलउडले ४, क्रुनाल पाण्ड्याले २ भुवनेश्वर कुमार र यश दयालले समान १ विकेट लिए ।
त्यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले २० ओभरमा ५ विकेट गुमाएर २०५ रनको योगफल तयार पारेको थियो ।
आरसिबीका लागि विराट कोहलीले सर्वाधिक ७० रन बनाए । उनले ४२ बलमा ८ चौका र २ छक्का प्रहार गरे । देवदत्तले पडिक्कलले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै फिल साल्टले २६ र टिम डेभिडले २३ रन जोड्दा जितेश शर्मा २० रनमा अविजित रहे ।
राजस्थानका लागि सन्दीप शर्माले २ तथा जोफ्रा आर्चर र वानिन्दु हसरङ्गाले समान १ विकेट लिए ।
