तेस्रो संस्करणको मधेस प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि मिथिला वारियर्सले जितेको छ ।

राजविराजमा बिहीबार भएको फाइनल खेलमा मिथिला वारियर्सले बलानबिहुललाई पाँच विकेटले पराजित गरेको हो । विजेता मिथिलाले ९ लाख एक हजार रुपैयाँ तथा उपविजेता बलानबिहुले चार लाख एक हजार पुरस्कार प्राप्त गरे ।

टस जितेर पहिला ब्याटिङ गर्दै बलानबिहुले १९.३ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । १५४ रनको विजयी लक्ष्य मिथिला वारियर्सले १८.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

बलानबिहुका लागि विवेक यादवले सर्वाधिक ४५ रन बनाए । यस्तै, लोकेश बमले ४१, सुजन थपलियाले २८ तथा फिर्दोष अन्सारीले १५ रन बनाए । बलिङतर्फ मिथिला वारियर्सका वसन्त खत्रीले तीन, शेर मल्ल र कुशल भुर्तेलले दुई-दुई तथा नन्दन यादवले एक विकेट लिए।

यसैगरी मिथिलाका लागि कुशल भुर्तेलले सर्वाधिक ५८ रन बनाए । यसैगरी रवि साहले ४४ र बसिर अहमदले २५ रन बनाए । बलिङतर्फ बलानबिहुका विवेक यादव र अरनिको यादवले दुई-दुई विकेट लिए । ‘प्लेयर अफ दी म्याच’ मिथिलाका कुशल भुर्तेल घोषित भए ।

प्लेयर अफ दी सिरिज’ विशाल पटेल (जनकपुर सनराइज), उत्कृष्ट ब्याटर आशिफ शेख (जनकपुर सनराइज) तथा उत्कृष्ट बलर शेर मल्ल (मिथिला वारियर्स) घोषित भएका आयोजक समितिका अध्यक्ष सञ्जिवनारायण यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *