नेपाल बास्केटबल संघ (नेबा) ले पहिलो पटक दी हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।
नेबाले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको पहिलो संस्करण यही बैशाख २० गतेबाट शुरु हुने जानकारी गराएको हो ।
६ हप्तासम्म चल्ने लिगमा टाईम्स, हाउण्ड्स, कीर्तिपुर, रोएल्स, गोल्डेनगेट र सामाखुशी बास्केटबल टिम गरि ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । नेपालमा अब वर्षाको सिजन शुरु हुँदैछ । जसले गर्दा विकेण्ड लिग अनुसार हुने यो प्रतियोगिताको खेलहरु शनिबार र आइतबार तथा मंगलबार र बुधबार खेलाइने छ ।
डबल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा कुल ३२ खेल हुने नेपाल बास्केटबल संघका अध्यक्ष भिम सिंह गुरुङले बताएका छन् । जसमा डबल राउण्ड रोविन चरणमा ३० तथा दुई प्लेअफ खेल हुनेछन् । सहभागि टिमले एक अर्काबीच समान दुई खेल खेल्ने छन् ।
वर्षा यामका कारण लिगको पहिलो संस्करण सिंगल भेन्यु अर्थात् राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरको आउटडोर कोर्टमा संचालन हुने गुरुङको भनाई छ । यस्तै प्रतिकुल मौसमलाई मध्यनजर गरि राखेपको इन्डोर र कीर्तिपुरको हललाई वैकल्पिक भेन्युको रुपमा राखिएको आयोजकले जनाएको छ ।
नेपाल बास्केटबल संघले हिमालयन जाभासँगको सहकार्यमा यो लिग शुरुवात गर्न लागेको हो । जसका लागि नेबा र जाभाबीच यसअघि नै सम्झौता भइसकेको छ । नेपाली बास्केटबल खेल र खेलाडीको विकास मुख्य उद्देश्य लिएको लिगमा सहभागि टिमले विदेशी खेलाडी समावेश गर्न पाउने छैनन् ।
अनुमानित बजेट १५ लाख रहेको लिगको पुरस्कार राशी घोषणा हुन बाँकी छ । आयोजकका अनुसार लिगमा सहभागि टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको छ ।
