इण्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले पाँचौं जित निकालेको छ ।

मुल्लनपुरस्थित महाराज यादविन्दर सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा आरसिबीले घरेलु टोली पञ्जाब किंग्सलाई ७ विकेटले पराजित गरेको हो ।

दुई दिन अघि मात्र पञ्जाबले आरसिबीलाई हराएको थियो ।पञ्जाबले दिएको १५८ रनको लक्ष्य आरसिबीले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

आरसिबीको जितमा विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए । कोहलीले ५४ बलमा ७ चौका र १ छक्काको सहयोगमा अविजित ७४ रन बनाए । यसैगरी देवदत्तले ३५ बलमा ५ चौका र ४ छक्कासहित ६१, कप्तान रजत पाटिदारले १२ र जितेश शर्माले अविजित ११ रन बनाए ।

पञ्जावका लागि अर्शदीप सिंह, हरप्रीत ब्रार र युज्वेन्दर चहलले समान एक विकेट लिए  ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको थियो ।

पञ्जाबका लागि प्राभसिम्रन सिंहले सर्वाधिक ३३, सशांक सिंहले अविजित ३१, जोश इङ्लिसले २९ रन, मार्को जेनसेन अविजित २५ र प्रियान्स आर्याले २२ रन बनाए ।

आरसिबीका लागि क्रुणाल पाण्डेया र सुयश शर्माले समान दुई तथा रोमारियो शेफर्डले एक विकेट लिए । 

जितसँगै ८ खेलमा १० अंक जोडेको आरसिबी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पराजित पञ्जाव समान खेलबाट १० अंकका साथ चौथो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *