पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष तथा देशका आन्तरिक मन्त्री मोहसिन नकवीले पाकिस्तानको महिला क्रिकेट टोली भारतमा हुने २०२५ को आईसीसी महिला विश्वकप खेल्न नजाने स्पष्ट पारेका छन् ।

पाकिस्तानले थाइल्याण्डलाई ८७ रनले हराउँदै विश्वकपको छनोट चरण पार गरेपछि नकवीले उक्त अभिव्यक्ति दिएका हुन् ।

“महिला क्रिकेट टोलीको सफलतामा हामी खुसी छौं, तर उनीहरूले भारत यात्रा गर्ने छैनन्,” नकवीले भने, “अब भारतले निर्णय गर्नु पर्छ कि पाकिस्तानको खेल कहाँ हुनेछ । भारत बाहेक जहाँ पनि भए हाम्रो टोली खेल्न तयार छ ।”

भारतले यसअघि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो र दुबईमा तेस्रो मुलुकको मैदानमा खेल्ने सहमति भएको थियो । सो सहमतिअनुसार अब पाकिस्तानले पनि आफ्ना खेल भारतमा नखेल्ने निर्णय गरेको हो ।

पीसीबी अध्यक्ष नकवीले स्पष्ट पारे, “यो निर्णय कुनै एकपक्षीय होइन । यो ‘हाइब्रिड मोडल’ को हिस्सा हो, जुन दुबै क्रिकेट बोर्डबीच सहमतिमा भएको हो । जसरी हामीले च्याम्पियन्स ट्रफीमा भारतको लागि दुबईको मैदान स्वीकार्य बनायौं, अब भारतले पनि त्यही मोडल स्वीकार गर्नुपर्नेछ ।”

भारत र पाकिस्तानबीचको राजनीतिक तनावले विगत लामो समयदेखि क्रिकेट खेलमा पनि असर पारेको छ । दुबै देशका खेल टोलीबीचको द्विपक्षीय श्रृंखला विगत एक दशकदेखि स्थगित छ र आइसीसी आयोजक हुने बहुपक्षीय प्रतियोगितामा मात्र उनीहरू एक-अर्काविरुद्ध खेल्दै आएका छन् ।

आईसीसी महिला विश्वकप २०२५ सेप्टेम्बरमा भारतमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्, जसमा पाकिस्तानले हालै क्वालिफाइ गरेको हो । तर अब पाकिस्तानको खेल भारतमा नखेलाई तेस्रो देशमा सारिने सम्भावना बलियो देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *