काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि नेपाल नम्बर दुई गल्फर निरज तामाङले जितेका छन् ।

३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जित्न सफल रहे । उनको यो करियरको चौथो उपाधि हो ।

रोयल नेपाल गल्फ क्लबमा भएको फाइनल प्रतिस्पर्धामा निरजले धन बहादुर थापालाई पहिलो नौ होलमा २-होलले पछि पारे । यसपछि १८ होल सकिंदा निरजले ६-होलको फराकिलो अग्रता बनाए । एकपक्षीय जितको नजिक निरज पुगेका थिए । तर धनले सहजै हार मानेनन् ।

२७ होलको समाप्तीमा अग्रता ५-होलमा छोट्याए । यसपछि ३२ औं होलको खेल बराबरीमा सकिएसँगै निरजले ४ होल अगाडि उपाधि जिते । उपाधिसँगै निरजले नगद ६० हजार प्राप्त गरेका छन् ।

दोस्रो भएका धनले ४२ हजार प्राप्त गरे । निरजले पहिलो चरणमा सूर्य प्रसाद शर्मा, क्वाटरफाइनलमा रामे मगर र सेमिफाइनलमा दिनेश प्रजापतिलाई हराएका थिए । निरजले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका थिए ।

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले तेस्रो स्थान प्राप्त गरे । दिनेशले रवि खड्‌कालाई १८ होलको प्रतिस्पर्धामा ४/२ ले माथ दिए। दिनेशले ३२ हजार र रविले २४ हजार हात पारे ।

क्वाटरफाइनलमा पराजित नेपाल नम्बर एक भुवन नगरकोटी, तोरण विक्रम शाही, रामे मगर र प्रदीप कुमार लामाले ११/११हजार प्राप्त गरे ।

पहिलो चरणमा पराजित हुने पशुपति शर्मा, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सञ्जय लाम, जयराम श्रेष्ठ, रमेश अधिकारी दीपक मगर र सूर्य प्रसाद शर्माले जनही ६/६हजार प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *