गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् ।

आज बुधवार भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता सशश्त्र प्रहरी बलको एपीएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो ।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९-३ को फराकिलो स्कोरले हराउन सफल भयो ।

च्यासल खेल मैदानमा गोर्खाली र एपीएफ विचको खेल भने हेर्न लायकको थियो । साविक विजेता गोर्खालीले शुरु देखि नै विपक्षी विरुद्ध दवाव बनाएको थियो । तर नयाँ संरचनामा बलियो टिम बनाएर आएको एपीएफले खेलमा अग्रता बनाउँदै गोर्खाली विरुद्ध दरिलो रुपमा प्रस्तुत भयो ।

पहिलो हाफमा ७-० अग्रता लिंदै एपीएफले विपक्षी विरुद्ध दरिलो चुनौती पेश गरेको थियो । दोस्रो हाफको शुरुआतमा अर्को ट्राई गरेपछि खेल एपीएफको पक्षमा १२-० को स्थितिमा पुगेको थियो ।

दवावको यो बेला गोर्खालीलाई खेलमा फर्किन गाहो भइसकेको थियो । तर एक ट्राइ र एक कन्भर्जन सफल पार्दै गोर्खालीले खेलमा फर्किन प्रयास गर्यो । खेल सकिनै लागेको बेला यदु अधिकारीले अर्को ट्राई हान्नुका साथ कन्भर्जन पनि सफल भइ गोर्खालीले १४ अंक जोड्यो ।

एपीएफका खेलाडीहरुले विपक्षीले फाउल खेलेको भन्दै असन्तुष्टि जनाएर खेल मैदान छोडेका थिए । लामो समय पछि पनि एपीएफ मैदानमा नफर्किएपछि रेफ्रीले गोर्खालीलाई विजयी घोषित गरेका थिए ।

अर्को खेलमा तीन पटकका च्याम्पियन त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी विरुद्ध सहज जित हात पारेको हो । खेलको शुरुआत देखिनै विपक्षी विरुद्ध स्कोर जोड्न थालेको सेनाको टोली पहिलो हाफमा २२-० को सहज स्थितिमा पुगेको थियो ।

दोस्रो हाफमा सेनाले थप २७ अंक जोड्न सफल भयो। नेपाल पुलिसले भने पेनाल्टीबाट ३ अंक सान्त्वना स्वरुप जोड्न सकेको थियो ।

यसअघि नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले प्रतियोगिताको उद्घघाटन गरेका थिए । रग्बी फिफ्टिन्स नेपाल रग्बी संघले सन् २०१८ देखि थालेको रग्वी फिफ्टिन्सको एक मात्र क्लब प्रतियोगिता हो ।

प्रतियोगिता अन्तर्गत अब शनिवार गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लब तथा नेपाल पुलिस र एपीएफ विच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविन लिगमा सबैले टोलीले एक अर्कोसँग खेले पछि शीर्ष टोली प्रतियोगिताको च्याम्पियन बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *