विराटनगर । विराटनगरमा जारी प्रदेशस्तरीय टि– २० क्रिकेट प्रतियोगितामा इलाम र झापाले रोमाञ्जक जित निकालेका छन् । बिहीबार भएको खेलमा इलामले घरेलु टिम मोरङलाई र झापाले सुनसरीलाई पराजित गरेको हो ।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउँदै इलामले महत्त्वपूर्ण दुई अंक जोडेको छ । इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो ।

इलामले दिएको ११४ रनको लक्ष्य पछ्याएको मोरङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सिमित भयो ।

मोरङका लागि सन्तोष चौधरीले सार्वधिक ३९ रन बनाए । उनले ४० बलको सामना गर्दै दुई चौक्का र एक छक्का प्रहार गरे । मिनाश थापाले २२ बलमा ३२ रनको योगदान दिए ।

इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २ तथा लभ कामतले १ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो ।

सिवान्श बजगाइले सर्वाधिक ३० रन बनाए । उनले २७ बलमा ५ चौका प्रहार गरे । इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए ।

मोरङका लागि अर्मन अली र मिनाश थापाले समान ३ विकेट लिए । खेलको प्लयेर अफ द म्याच इलामका लभ कामत घोषित भए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ पाए ।

दोस्रो खेलमा झापाले सुनसरीलाई ६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा सुनसरीको यो दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११७ रनको योगफल तयार पारेको थियो ।

झापाको जितमा संगम बुढाथोकीले सर्वाधिक २१ बलमा २६ रन बनाए । भुपाल डाँगीले २५ बलमा २२ रन पारी खेल्दा झापा दिपु भुजेल र भुपेस गौतमलले समान २१ रनको योगदान गरे । झापाका अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन ।

सुनसरीका शिरान यादव र सोनु मण्डलले समान २ विकेट लिए । शिरानले ४ ओभरमा २९ रन खर्चिए भने सोनुले २ ओभरमा १५ रन खर्चिए ।

त्यसअघि सुनसरीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १११ रनमा सिमित भयो । सुनसरीका गौरव कटुवालले ३१ रन पारी खेल्दा श्रीजन २२ रन र सोनु मण्डले १८ रनको योगदान दिए ।

झापाका लागि विजय कार्की र सुरन्जन राईले समान २ तथा संगम बुढाथोकीले १ विकेट लिए । संगम खेलको प्यलेर अफ द म्याच घोषित भए । उनले नगद दुई हजार पाँच सय रुपैयाँ पाए

शुक्रबार आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र झापा जिल्लाबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *