जिमी निशमको ५ विकेट लिएपछि घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई पाँचौ टि ट्वान्टी आईमा ८ विकेटले हराएको छ ।

योसँगै न्युजिल्याण्डले पाँच खेलको टि ट्वान्टी आई सिरिज ४-१ ले जितेको छ । आज १ सय २९ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १० ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा ओपनर टिम साइफर्टले अविजित रहँदै ३८ बलमा १० छक्का र ६ चौकासहित सर्वाधिक ९७ रन जोडे । पहिलो विकेटका लागि साइफर्टले फिना एलेनसँग मिलेर ९३ रनको साझेदारी गरे ।

एलेन १२ बलमा ५ चौका र १ छक्काको सहयोगमा २७ रन बनाए । मार्क च्यापम्यान ३ रनमा आउट हुँदा ड्यारियल मिचेल २ रनमा नट आउट रहे । पाकिस्तानका लागि सफियान मुकुमले २ विकेट लिए ।

त्यसअघि विलिङ्गटनस्थित स्काई स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनको योगफल बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान सलमान आगाले सर्वाधिक ५१ रन जोडेका थिए । उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

शादब खान २८ तथा मोहम्मद हरिस ११ रनमा आउट भए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

न्युजिल्याण्डका लागि निशमले ४ ओभरमा २२ रन खर्चिएर ५ विकेट लिएका थिए । ज्याकोब डफीले २ तथा इश सोडि र बेन सेर्यसले समान १ विकेट लिएका थिए ।

पहिलो, दोस्रो र चौथो खेल जित्दै न्युजिल्याण्डले १ खेल अगावै सिरिज जितेको थियो । पाकिस्तानले तेस्रो खेल जितेको थियो । दुई टोलीबीचको ३ खेलको ओडिआई सिरिज शनिवार सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *