एपिएफ क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

एपीएफले बुधबार कोशी प्रदेशलाई २ विकेटले पराजित गरेको हो । कोशीले दिएको २५५ रनको लक्ष्य एपिएफले ४४.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका लोकेश बमले अविजित रहँदै सार्वधिक ८४ रन बनाए । ५४ बल खेलेका लोकेशले ६ चौका र ६ छक्का प्रहार गरे ।  

यस्तै, कप्तान रोहित पौडेलले ६१ र दीपक बोहोरा ३६ रन जोडे । ७३ बल खेलेका रोहितले ६ चौका प्रहार गरे । यसैगरी, सन्दिप जोराले ३० रन जोड्दा इर्साद अहमद १६ रनमा अविजित रहे । 

कोशीको लागि दिपेश कंडेल र फिर्दोश अन्सारीले समान ३ तथा भुपाल लुइटेल र ज्ञानेन्द्र श्रेष्ठले समान १ विकेट लिए ।

त्यसअघि भैरहवाको‌ सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कोशी ५० ओभरमा २५४ रनमा अलआउट भएको थियो ।

कोशी प्रदेशका लागि साकिब हकले सर्वाधिक ६८ रनको योगदान दिए । यस्तै, कप्तान अंकित सुवेदीले ३५, आशिष भट्टाराईले ३४ र सुजन थपलियाले ३३ रन जोडे । चिराग साहले २४ रन जोड्दा दीपेश कँडेल १२ रनमा पभिलियन फर्किएका थिए । 

एपिएफका लागि मौषम ढकाल र अभिषेक गौतमले समान ३, कप्तान रोहितले २, इर्शाद अहमद र अमरसिंह राउटेलाले समान १ विकेट लिए ।

यस जितसँगै एपीएफको ९ खेलमा १४ अंक भएको छ र तेस्रो स्थानमा छ । दोस्रो स्थानको आर्मीको ८ खेलमा १४ अंक नै छ तर नेटरनरेटमा अगाडि छ । शीर्ष स्थानको पुलिसको १६ अंंक छ ।

अब भोलि हुने खेलमा आर्मी पुलिससँग फराकिलो अन्तरले पराजित भएमा मात्र एपीएफको फाइनल यात्रा तय हुन सक्छ । कोशीले भने ९ खेलमा २ अंक मात्र जोडेर पुछारमा रहँदै पिएम कपको अन्त्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *