घरेलु टोली न्युजिल्यान्डले पाकिस्तानविरुद्धको अन्तार्राष्ट्रिय टि-२० सिरिज एक खेल अगावै जितेको छ ।
आइतबार चौथो खेलमा पाकिस्तानलाई ११५ रनले हराउँदै न्युजिल्यान्डले पाँच खेलको सिरिज एक खेल अगावै ३-१ ले जितेको हो ।
न्युजिल्यान्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको पाकिस्तान १६.२ ओभरमा १०५ रनमै समेटियो ।
पाकिस्तानका लागि अब्दुल समादले अविजित ४४ र इरफान खानले २४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि जाकोब डफीले चार, जेक्यारी फाउल्क्सले तीन तथा विल ओ’रोर्क, जेक्स निशम र इश सोधीले समान एक विकेट लिए ।
त्यसअघि माउन्ट माउङ्गानुइस्थित बे ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो ।
न्युजिल्यान्डका फिन एलेनले सर्वाधिक ५० रन बनाए । उनले २० रनमा ६ चौका र चार छक्का प्रहार गरे । कप्तान माइकल ब्रासवालले ४६ बनाए । टिम साइफर्ट ४४ रन जोडे । डार्यल मिचेलले २९ रन र मार्क च्याम्पमानले २४ रन बनाए ।
पाकिस्तानका लागि ह्यारिस रौफले ३, अबरार अहमदले २ र अब्बास अफ्रिदीले १ विकेट लिए ।
यी दुई टिमबीचको अन्तिम टि–२० आई खेल बुधबार हुने छ ।
