एपिएफको चौथो जित

२०८१, ७ चैत्र शुक्रबार १७:३३

विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा चौथो जित हासिल गरेको छ । 

शुक्रवार एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ५१, आसिफ शेखले ३२, लोकेश बमले १९, कप्तान रोहितकुमार पौडेलले १४ र सुमीत महर्जनले १२ रन जोडे ।

सुदूरपश्चिमका लागि विकास आग्री, शेर मल्ल र नारायण जोशीले समान २ विकेट लिए ।

त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४८.५ ओभरमा १९१ रनमा अलआउट भएको थियो ।

सुदूरपश्चिमका लागि निश्चिल खत्रीले सर्वाधिक ५७, प्रकाश पाण्डेले ४२, किरण ठगुन्नाले १२, शेर मल्लले ११ तथा सुनिल चन्द र हेमन्त धामीले समान १० रन जोडेका थिए ।

एपिएफका लागि कप्तान रोहित पौडेल र अमरसिंह राउटेलाले समान ३ र भुवन कार्कीले २ विकेट लिए ।

जितसँगै ६ खेलबाट ८ अंक जोडेको एपीएफ तेश्रो स्थानमा उक्लिएको छ । पराजित सुदूरपश्चिम ७ खेलमा ४ अंकसहित छैठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *