कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
बिहीवार भएको खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको हि । कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा अलआउट भयो ।
लुम्बिनीका लागि प्रज्वल थापाले १०७ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ८४ रनको योगदान गरे । यसैगरी कप्तान देव खनालले ४०, आकाश त्रिपाठीले २१ र मनीष थापाले १६ रन बनाए ।
कर्णालीका लागि दीपेन्द्र रावत र दिनेश अधिकारीले समान तीन, प्रकाश जैसीले दुई तथा सुनिल धमला र कप्तान दिवान पुनले समान एक विकेट लिए ।
त्यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा २ सय ५ रनको योगफल तयार गरेको थियो ।
कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाए ।
लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रसन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २ तथा कप्तान देव खनालले १ विकेट लिए ।
जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ । पराजित लुम्बिनी ७ खेलमा ८ अंकका साथमा तेस्रो स्थानमा छ । लुम्बिनीको यो लगातार दोस्रो हार हो । भने, कर्णालीको भने लगातार दोस्रो जित हो ।
