पुलिसको विजयी यात्रा कायमै

२०८१, ६ चैत्र बिहीबार १८:५९

विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको छ ।

बिहीवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रन पराजित गरेको हो । पुलिसले दिएको २९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २०४ रनमा अलआउट भयो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी शुभ कसंकारले ३६, विपिन आचार्यले १०, सूर्य तामाङले १७, प्रतिस जिसीले १५, आशुतोष घिरैयाले १२, कप्तान पृथु बास्कोटाले ११ र रिजन ढकालले १० रन बनाए ।

पुलिसका लागि ललित नारायण राजवंशीले ४, कुशल भुर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थियो ।

पुलिसका लागि कुशल भुर्तेलले ९८ बलमा ११ चौकाको मद्दतले सर्वाधिक ८८ रनको योगदान गरे । यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ४६ बलमा चार चौका र तीन छक्काको मद्दतले ६०, अमृत श्रेष्ठले ४८, आरिफ शेखले ३८, गुल्शनकुमार झाले १६ र दिलिप नाथले १० रन बनाए ।

बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए ।

प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ । बागमती ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *