बंगलादेशका अनुभवी क्रिकेटर महमुदुल्लाह रियादले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३९ वर्षीय महमुदुल्लाहले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गरेका हुन् ।

‘मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको छु’ उनले भनेका छन्, ‘म मेरा सबै टिममेट, प्रशिक्षक र विशेषगरी मेरा प्रशंसकहरूलाई धन्यवाद दिन चाहन्छु, जसले सधैं मलाई समर्थन गर्नुभएको छ ।’

यसअघि, महमुदुल्लाहले बंगलादेश क्रिकेट बोर्डलाई सन् २०२५ फेब्रुअरीपछि उनलाई केन्द्रीय सम्झौतामा नसमेट्न अनुरोध गरेका थिए । उनी बी ग्रेडमा समावेश भएका थिए ।

यसअघि अर्का अनुभवी क्रिकेटर मुस्किफर रहिमले पनि सन्यास लिएका थिए । हालै सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीपछि महमुदुल्लाह र रहिम दुवैको टिममा स्थानप्रति प्रश्न उठ्न थालेको थियो ।

महमुदुल्लाह एक मात्र बंगलादेशी खेलाडी हुन् जसले एकदिवसीय विश्वकपमा तीन शतक प्रहार गरेका छन्, जसमा दुई २०१५ संस्करणमा र एक २०२३ संस्करणमा थियो ।

उनले बंगलादेशका लागि २३९ एकदिवसीय, ५० टेस्ट र १४१ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । तीनवटै फर्म्याटमा गरेर उनले १० हजारभन्दा बढी रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *