लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा सुदूरले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको २२१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित शतकीय पारी खेले । १०१ बलमा उनले ९ चौका र ६ छक्कासहित १२१ रन बनाए । जारी प्रतियोगितामा शतकीय पारी खेल्ने किरण पहिलो ब्याटर बनेका छन् । यस्तै, कप्तान नारायण जोशीले अविजित ३८ र खडक बोहराले १९ रन जोडे ।
गण्डकीका लागि बिपिन खत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो ।
गण्डकीका लागि अर्जुन कुमाल र दीपक डुम्रेले अर्धशतकीय पारी खेले । दीपकले ७४ बल खेल्ने क्रममा तीन चौका र एक छक्का हान्दै ६० रन बनाए । यस्तै अर्जुनले ९५ बलमा ५७ रनको योगदान दिए । उनले यस क्रममा चार चौका र एक छक्का प्रहार गरे ।
यस्तै, सुदीप अर्यालले अविजित २३, दिनेश बुढामगरले १५ तथा अमृत गुरुङ र विपिन खत्रीले समान १० रनको योगदान दिए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले तीन, नारायण जोशीले दुई तथा हेमन्त धामी, मिलन बोहरा र अर्जुन विकले समान एक विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले दुई खेलबाट दुई अंक जोडेको छ । सुदूरपश्चिम पहिलो खेलका कर्णालीसँग ७९ रनले पराजित भएको थियो । यता गण्डकीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
