प्रधानमन्त्री (पिएम) कप एकदिवसिय पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उत्कृष्ट ३ खेलाडीले बाइक पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार उक्त जानकारी दिएको हो । पिएम कप २०२५ को सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक उच्च रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीले पल्सर कम्पनीको एन एस २०० बाइक पाउने क्यानले जनाएको छ ।
यो संस्करणको आइतवार सुरु हुने पिएम कप लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा आयोजना हुँदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ । पहिलो दिन नै तीन खेल हुनेछ ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा कोशीले लुम्बिनी प्रदेशलाई चुनौती पेस गर्नेछ । भैरहवाकै एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा एपिएफले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दाङको देउखुरी क्रिकेट मैदानमा हुने अर्को खेलमा भने कर्णाली र सुदूरपश्चिम भिड्नेछन् ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
गत संस्करणको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।
