तोरण शीर्ष स्थानमा कायमै

२०८१, १५ फाल्गुन बिहीबार १७:१८

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन् ।

आज २-अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३-अन्डर २०३ सहित शीर्षस्थानमा कायमै रहेका हुन्। उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे ।

४-अन्डर ६८ सहित समग्रमा १२-अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन् । अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए ।

दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे । समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे ।

समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे । उनी पाँचौ स्थानमा रहे । नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३-अन्डर ६९ को स्कोर निकाले। समग्रमा ४-अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए । आज १-अन्डर ७१ को स्कोरमा समग्रमा ३-अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन् ।

सञ्जय लामाले ३-अन्डर ६९ को स्कोर दर्ज गरे । समग्रमा भने २-अन्डर २१४ को स्कोरमा आठौं स्थानमा रहेका छन् । समग्रमा इभन-पार २१६ स्कोर जोडेका रामे मगर र टंक बहादुर कार्कीले नवौं स्थान बाँडे । रामेले २-अन्डर ७० र टंकले २-ओभर ७४ को स्कोर निकाले ।

लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए । उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । ब्याक नाइनमा ११औं र १२औं होलमा एक-एक सट बचाएपनि १०औं र १५ औं होलमा बोगीको सामना गरे । योसँगै ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

निरजले फ्रन्ट नाइन १-ओभर ३७ मा पुरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे । आठौं होलमा एक सट बचाए । तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ मा सकाए । उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४-पारको १८ औं होलमा इगलको सफलता प्राप्त गरे ।

एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे । फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे । १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे । यसपछि १५ औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे । उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए । यो नतिजामा उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए ।

सदभावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । यसपछि १३ औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *