अर्जुन ट्रफी राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि सीवाइसी अत्तरियाले जितेको छ ।

सोमबार धनगढीको फाप्ला मैदानमा भएको फाइनलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो ।

फाइनलमा अत्तरियाले दिएको ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए । डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अत्तरियाका शहाव आलम र दिपेश कँडेलले समान ३ तथा वि कमल गुप्ता र विवेक यादवले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय १८ रनको योगफल तयार पारेको थियो । अत्तरियाका लागि रासिद खानले सार्वधिक ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २० रन बनाउँदा सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन जोडे ।

डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिए । यस्तै, अजय चौहान र कुशल भुर्तेलले समान १ विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए ।

अत्तरिया प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बनेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले भने पाँच लाखमा चित्त बुझाएको छ । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग-३ को पनि विजेता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *