आगामी फागुन ३ गते काठमाडौंमा नेपाली युवा टोली र चीनको युनान युवा टोलीको बीचमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
चीनको नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना र नेपालस्थित चीनको दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो ।
यस मैत्रीपूर्ण खेलको मुख्य उद्देश्य युवा फुटबलको विकासलाई प्रवर्धन गर्ने साथै फुटबलको माध्यमबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनु रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धी मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङलगायतका अन्य जिम्मेवारी चिनियाँ दूतावासको रहने जनाइएको छ ।
उक्त खेलका लागि नेपाली टिमको मुख्य प्रशिक्षक राजेश शाहीलाई जिम्मेवारी दिएको छ । उनले ४५ सदस्यीय नेपाली युवा फुटबल टोली हाल बन्द प्रशिक्षणमा राखेका छन् ।
यो पटक चीनको गत वर्ष भन्दा बलियो टोली रहेको जनाएको छ । युनान प्रदेशबाट खेलाडी छनोट गरेर टोली तयार पारिएको चीनीयाँ दूतावासका डिसिएम वाङ् जिनले बताए । ३७ सदस्यीय टोली नेपाल आउनेछ ।
मैत्रीपूर्ण खेलका लागि अनुमानित बजेट ३८ लाख ९० हजार रहेको छ । दूतावासले एन्फालाई टोलीको तयारीका लागि २३ लाख उपलब्ध गराउनेछ । दूतावासले दोस्रो पटक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । गत वर्ष नेपालको युवा टोलीले चीनको टोलीलाई हराएको थियो ।
