नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रथम मेयर कप खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष प्रकाश जोशीले ६ देखि ८फागुनसम्म बुद्धिचाल खेलको खुला प्रतियोगिता हुने जानकारी दिएका हुन् । अध्यक्ष जोशीले प्रतियोगिता आयोजना गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले युवालक्षित खुला बुद्धिचाल प्रतियोगिताका लागि नगरपालिकाले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । नेपाल बुद्धिचाल महासंघको स आयोजना तथा प्राविधिक सहयोग रहेको प्रतियोगिताको नगद पुरस्कार २ लाख १७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको कुल खर्च ४ लाख ५२ हजार ५ सय अनुमानित रहेको छ ।
प्रतियोगितामा विजयी खेलाडीलाई नगद ४० हजार रुपैयाँ प्रदान गरिनेछ । दोस्रो स्थानमा हासिल गर्नेलाई २० हजार, तेस्रो हुनेलाई १५ हजार, चौथोले १० हजार, पाँचौँले ८ हजार तथा छैटौंदेखि दशौं हुनेले समान नगद ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा स्थानीय खेलाडीलाई उत्प्रेरणा स्वरुप छुट्टै नगद पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिनेछ । नुवाकोट जिल्लाबाट प्रथम स्थान प्राप्त गर्ने स्थानीय खेलाडीले नगद २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिस्पर्धामा महिला विधातर्फ प्रथम हुनेलाई ८ हजार, द्वितीयलाई ७ हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई ६ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताका प्रमुख निर्णायक फिडे आर्विटर सोराज ताम्राकारका अनुसार प्रतियोगितामा नेपालका शीर्ष १०० जना राष्ट्रिय खेलाडीको सहभागी रहनेछन् ।
पत्रकार सम्मेलनमा उपमेयर प्रभा बोगटी, पत्रकार महासंघका अध्यक्ष नवराज सुवेदी, नुवाकोट जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष विजय गुरुङ, नगरपालिकाका कार्यकारी अधिकृत शुभाकर पौडेल लगायत जिल्ला संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।
