धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।
सोमबार सम्पन्न समूह ‘बी’ को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो । अत्तरियाले दिएको १४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.२ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा समेटिएको थियो ।
काठमाडौंका लागि सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए । विपिन आचार्याले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
काठमाडौंलाई सस्तैमा समेट्न कमल गुप्ताले सर्वाधिक ५ विकेट लिए । ३.२ ओभर बलिङ गरेका उनले १० रन मात्रै खर्चिए । यस्तै दीपेश कँडेलले २ तथा शाहब आलम र सुनिल साउदले समान १ विकेट लिए ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रनको योगफल तयार पारेको थियो । अत्तरियाका लागि विवेक यादवले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए ।
कप्तान सन्तोष कार्की २३, सन्दीप क्षेत्री १६ र शंकर राणा १४ रनमा आउट भए । काठमाडौंका दीपेन्द्र रावत र युनिस ठकुरीले समान २ विकट लिए । सूर्य तामाङ, नितेश यादव र विपिन आचार्याले समान एक विकेट झारे ।
अत्तरियाका लागि कमल गुप्ता प्लेयर अफ द म्याच चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
जितसँगै २ खेलबाट ४ अंक जोडेको अत्तरिया समूह ‘बी’ को शीर्ष स्थानमा छ । काठमाडौंले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
आजै भएको पहिलो खेलमा बोस्टन झापामाथि फ्रेन्डस युथ क्लब डडेलधुराले जित हात पारेको थियो ।
गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०–५० हजार पाउने छन् । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागीता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
