धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो खेलमा डिसिए धनगढीलाई ८ विकेटले पराजित गरेको डडेल्धुराले लगातार दोस्रो जित हात पार्ने क्रममा बोस्टर्न क्रिकेट एकेडेमी झापालाई ७७ रनले पराजित गरेको हो ।
डडेलधुराले दिएको १४४ रनको लक्ष्य पछ्याएको झापाले १५ ओभरमा ९ विकेटको क्षतिमा ६६ रन मात्र जोड्न सक्यो । झापाका लागि सनम बुढाथोकीले सार्वधिक १७ रन जोडे । दिपु भुजेलले १५ रन बनाउँनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ डडेल्धुराका लागि कुशल भुर्तेलले ४, अजय चौहानले २, कप्तान सन्दीप जोरा, अजय चौहान र रवि विष्टले समान १ विकेट लिए ।
त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डडेलधुराले खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा निर्धारित ओभरमा ३ विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो ।
डडेल्धुराका लागि ओपनर आयुषमान बमले ३६ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५७ रनको योगदान गरे । कप्तान सन्दीप जोराले ३० बलमा चार चौका र चार छक्काको मद्दतमा ५१ रन बनाए । किरण ठगुन्नाले १० बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे । विनोद भण्डारी ५ तथा कुशल भुर्तेल २ रनमा आउट भए ।
बलिङमा झापाका लागि अरुण ऐरीले २ तथा पवन कार्कीले एक विकेट लिए । डडेल्धुराका आयुषमान बम म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।
यो जितसँगै २ खेलबाट ४ अंक जोडेको डडेल्धुरा तालिकाको शिर्ष स्थानमा कायम छ । झापाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
गो ड्रिमर्सको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबको सहभागीता रहेको छ । सहभागी टिमलाई दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा प्रतियोगिता भईरहेको छ ।
