काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको हो ।
थाइल्याण्डले दिएको ८७ रनको झिनो लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रन बनाएर अलआउट भयो ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डी लिडेले सर्वाधिक २५ रन जोडिन् । यस्तै, आइरिस विलिङले १३ र क्यारोलिन डी ल्याङ्गीले १० रनको योगदान दिइन् । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
थाइल्याण्डका लागि थिपाच्चा पुथावाङ र ओनिचा कामचोम्फुले समान ३-३ विकेट लिँदा चानिदा सुथिरुआङले २ तथा नट्टाया बुचाथमले १ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको थियो ।
थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । फन्नीता मायाले ३१ बलमा १२ रन जोडिन् । थाइल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले समान २ विकेट लिए । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् ।
सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्डका अलावा नेपाल पनि सहभागी रहेको छ । तीन देश सहभागी सिरिजको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
सिरिजमा मंगलबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । लगातार तीन हार व्यहोरेको नेपाल यस खेलमा पराजित भएमा सिरिज जित्ने होडबाट बाहिरिनेछ ।
