पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो ।

पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको हो । पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२१ ले जितेको पुलिसले तेस्रो सेट २०-२५ ले गण्डकीलाई सुम्पिएको थियो ।

दोस्रो सेटमा १२-१५ को अग्रतालाई उल्टाउँदै पुलिसले २५-२१ को जित निकालेको थियो । चौथो सेट २५-२२ ले जित निकाल्दै पुलिस उपाधि चुम्न सफल रह्यो ।

उपाधि जितेको पुलिसले ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्यो । फाइनलमा पराजित भएको गण्डकीले २ लाख ८५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

यसअघि भएको महिलातर्फको फाइनलमा शसस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई ३-२ को सेटले पराजित गर्दै आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *